काठमाडौँ, १६ जेठ २०७७ । नेपाल दलित विद्यार्थी संघले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा मागेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले यस्तो माग गरेको हो ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा घटेको घट्नाको सरकारले गम्भीर रूपमा नलिएको बताउँदै नेपाल दलित विद्यार्थी संघका अध्यक्ष कमल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजीनामा माग गरेका हुन् ।
उनले घट्नाको सम्बन्धमा सत्य, तथ्य छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र त्यसमा दलित आयोग र दलित समूदायका साथीहरुलाई पनि राखिनुपर्ने धारणा राखे ।
नवराज हत्याकाण्ड नेपालको संविधान र कानूनको धज्जी उडाएको उनको भनाई छ । मुलुकको गृहमन्त्री भैसकेका जनार्दन शर्मा र शक्ति बहादुर बस्नेतको क्षेत्रमा घट्ना घट्नु र आजसम्म न्याय नपाउनु भनेको लज्जाको विषय भएको उनले प्रश्न उठाए ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष, नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा दलित विद्यार्थी संघका पनि पूर्वअध्यक्ष मञ्जित ताम्राकारले २१औं शताब्दीमा यस्तो घट्ना घट्नु भनेको निन्दनीय भएको बताए । आफूहरु लकडाउन उल्लंघन गरेर भएपनि रुकुम घट्नामा संलग्न दोषीलाई कारबाहीको लागि सडकमा उत्रिएको ताम्राकारले स्पष्ट पारे ।








































