काठमाडौँ, २ जेठ २०७७ । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ ।
सरकारले शुक्रबार संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, कालापानी क्षेत्र फिर्ता लिने घोषणा गरेको हो ।
सरकारले ती क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा पनि गरेको छ ।
नीति तथा कार्यक्रमले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सरकारले आगामी आवमा वीरगञ्ज–काठमाडौँ र रसुवागढी–काठमाडौँ रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा पनि गरिएको छ ।
नीति तथा कार्यक्रममा स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिइएको छ ।
कोरोना कारण कसैको पनि ज्यान जान नदिने गरी र मुलुकलाई कोरोना महामारीमुक्त बनाउने योजना सार्वजनिक गरिएको छ ।
त्यसैगरी, आर्थिक क्रियाकलाप, उत्पादननशील क्षेत्र र सामाजिक जीवनमा थप क्षति हुन नदिने प्रतिबद्धता नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विदेशमा रोजगारी गुमाएकाहरुलाई स्वदेशमै कृषि र निर्माण क्षेत्रमा रोजगारी दिने प्रतिबद्धता नीति तथा कार्यक्रममा गरिएको छ ।








































