काठमाडौँ, ८ बैशाख २०७७ । पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समिति एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याउने सरकारको निर्णयमा नेपाली कांग्रेसले बेमौसमी बाजा नबजाउन आग्रह गरेको छ ।
कोरोनाभाइरस महामारी संकटका बेला अरू विषय गौण हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समिति एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
उक्त निर्णय बाहिरिएपछि कांग्रेस प्रवक्ता शर्माले ट्वीट गर्दै, ‘बेमौसमी बाजा´ नबजाऔं ! संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने होl नेपालका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन्, गौण रहनुपर्छ’ भनेका छन् ।
सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्ने शर्माको भनाइ छ ।