काठमाडौं, ८बैशाख २०७७ । आज (सोमबार) मध्यान्ह मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक डाकिएको स्रोतले जानकारी दिएकाे छ ।
बैठकमा सरकारका नियमित काम कारवाहीकाका साथै कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुनेछ । स्रोतले जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट नियमित लकडाउन गर्दै आएको छ । पछिल्लो समय थपिएको लकडाउन बैशाख १५ गतेसम्मलाई छ ।
तर आजको बैठकमा लकडाउन छोट्याउने वा लम्ब्याउने भन्ने विषयमा कुनै छलफल नहुने एक मन्त्रीले जानकारी दिएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष अन्तर्वार्ता दिंदै तत्काल लकडाउन खोल्न नसकिने संकेत दिइसकेका छन् ।
‘अझै एक हप्ता बाँकी रहेकाले त्यसबारे अर्को बैठकमा छलफल हुन्छ, आजको बैठकमा भइरहेका काम कारवाहीबारे नै छलफल हुनसक्छ । भइरहेका काम कारवाहीलाई प्रभावकारी बनाउने भन्ने नै मुख्य विषय हो’, ती मन्त्रीले भने ।
आजको बैठकमा अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुनसक्ने स्रोतको भनाइ छ । त्यस्तै सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापनलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।