अमेरिका, ७ बैशाख २०७७ । नोबेल कोरोना भाइरस सङ्क्रमणको महामारीले थामिने सङ्केत अझै देखाइरहेको छैन । हालसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित सङ्ख्या २३ लाख पुगेको छ भने १ लाख ६० हजार ७ सय १७ जनाले ज्यान गुमाएका छन् ।
जोन हपकिन्स युनभर्सिटीले जनाएअनुसार सबभन्दा ज्यादा कोरोनाको शिकार भएको अमेरिकामा ३८ हजार ९ सय १० को मृत्यु भइसकेको र त्यहाँ सङ्क्रमित सङ्ख्या ७ लाख नाघिसकेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई गम्भीर चेतावनी दिएका छन् । यदि जानाजान कोरोना भाइरसको महामारी फैलाइएको हो भने चीनले यसको ‘नतिजा’ भोग्नुपर्ने उनको भनाई छ ।
अमेरिकामा सङ्क्रमणको कहर नथामिएपछि क्यानडा र अमेरिकाबीच एक महिना थप अवधि सीमा बन्द गर्ने सहमति भएको छ ।
उता अष्ट्रेलियाका विदेशमन्त्री मारिज पायनेले कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबारे स्वतन्त्र जाँच हुनुपर्ने बताएकी छन् । उनले विश्व स्वास्थ्य सङ्गठनको भूमिकाको पनि जाँच हुनुपर्ने धारणा अघिसारेकी छन् । अब अष्ट्रेलिया र चीनबीचको सम्बन्धमा समेत परिवर्तन आउने चेतावनी पायनेले दिएकी छन् ।
यसअघि फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रोंले पनि चीनको भूमिका पारदर्शी नभएको भन्दै सवाल उठाएका थिए ।