पोखरा, ७ बैशाख २०७७ । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङका ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरस मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसुलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
डिस्चार्जपछि पौडेलले आफूले जसरीपनि कोरोना भाइरसलाई जित्ने अठोटका साथ कोरोना भाइरसलाई जित्न सफल भएको बताउनुभयो । छोरीलाई भेट्नका लागि बेल्जियम गएर फर्कदा भाइरस संक्रमण भएको पुष्टी भएपछि अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार व्यवहार गरेकाले जित्न सहज भएको बताउनुभयो ।
१६ दिनसम्म अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा प्रयाप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधीहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताउनुभयो । आफ्नै घर नजिकको अस्पतालबाटै कोरोनाको उपचारपछि फर्कन पाउँदा खुसी लागेको भन्दै पौडेलले संक्रमण लाग्दै नदिनका लागि सबै उपाय अपनाउन र लागीहालेपनि नआत्तिन सबैलाई आग्रह गर्नुभएको थियो ।
‘मलाई कोरोनाको संक्रमण भएपनि शारिरिक रुपमा कुनै समस्या थिएन, विश्वका हजारौं मानिसको ज्यान लिएको कोरोनालाई जित्छु भन्ने अठोटका कारण ६५ वर्षको उमेरमा कोरोनालाई जितेर घर फर्केको छु ।’ पौडेलले भन्नुभयो । धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बि. पौडेलले उहाँलाई नियमित दिइरहेका औषधी दिने र दुई साता होम क्वारेन्टाइनमै बस्ने गरी डिस्चार्ज गरिएको बताउनुभयो ।
संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए ।
ती मध्य काठमाडौंमा उपचाररत दोस्रो संक्रमित र बागलुङमा उपचाररत छैठौ संक्रमित एकै दिन कोरोना मुक्त भएका छन् । पाँचौ संक्रमित युवतीको भने चौथो रिपोर्ट समेत पोजेटिभ आएकाले अस्पतालमा उपचार गराइरहनुभएको छ ।