काठमाडौं, ४ बैशाख २०७७ । विश्वका विभिन्न देशमा पाँच लाख ९ हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ८३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जसमध्ये पाँच लाख १० हजार ४६ जना निको भएको वल्डोमिटरले जनाएको छ । १४ लाख ३३ हजारभन्दा धेरै मानिसको उपचार भइरहेको छ भने एक लाख ३४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
गएको २४ घण्टामा मात्रै विश्वका विभिन्न देशमा सात हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै झण्डै दुई हजार पाँच सय जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २८ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ भने ६ लाख ४३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटलीमा २१ हजार ६ सयभन्दा धेरै, स्पेनमा १८ हजार सात सयभन्दा धेरै, फ्रान्समा १७ हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा गएको २४ घण्टामा एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय नाघेको छ भने १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।