काठमाडौं, २४ चैत २०७६ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ ।
सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्को बैठकबाट यो निर्णय अनुमोदन गरिनेछ ।
कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियोन। दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो ।
संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन्।
आज बस्ने मन्त्रीपरिषद् बैठकबाटै नेपाल राष्ट्र बैंकका लागि गभर्नर नियुक्ति हुनसक्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।








































