काठमाडौँ, १६ चैत २०७६ । काठमाडौँ उपत्यका लगायत देशभर नै कोरोना भाइरस (कोभिड–१९) लकडाउन कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ ।
महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लक डाउनको छैठौ दिन आज आइतबार मुलुकभरको जनजीवन शान्त र सामान्य रहेको गृह मन्त्रालयले स्पष्ट पारेको छ । सातदोबाटो, लगनखेल, जाउलाखेल, पुल्चोक, थापाथली, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुनाको स्थलगत अवलोकन गर्दा सुनसान रहेको छ ।
नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भन्नुभयो , ‘हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जनालाई होल्ड गरिसकिएको छ ।’
सडकमा उभ्याएर उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइने प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोखरेलले बताउनुभयो । ‘पक्राउ गरेर राख्दा झन् जोखिम बढ्न सक्ने सम्भावना हुन्छ’, ‘ अब सामाजिक दुरी कायम गरेर सम्बन्धित स्थानमा प्रहरी जवानहरुले उहाँहरुलाई प्रशिक्षण दिनुहुनेछ ।’ भन्नुभयो ।
सरकारले कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ । जसको छैठौं दिनमा उपत्यका प्रहरीले नीति परिवर्तन गरेको हो ।
औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपक्षी, माछाको दाना र कुखुराजन्य वस्तु ढुवानी गर्ने र फर्किने सवारी साधनलाई सञ्चालन हुन दिने निर्णय भएको थियो । टोल फ्री नम्बर ११४९ मा कालोबजारी, ठगी र मूल्य वृद्धिभन्दा खाद्य सामग्रीको सहज उपलब्धताका लागि गुनासो गर्नेहरूको सङ्ख्या धेरै रहेको गृह मन्त्रालयले जनाएको छ ।
औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपक्षी, माछाको दाना र कुखुराजन्य वस्तु ढुवानी गर्ने र फर्किने सवारी साधनलाई सञ्चालन गर्न आग्रह गरिएको छ । सर्वसाधारणको दैनिकीलाई सहज र उपभोग्य सामग्रीको आपूर्ति व्यवस्था गर्न मालवाहक सवारी साधनको सञ्चालनमा समस्या देखिएकाले यस्तो आग्रह गरिएको गृह प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो ।
सर्वसाधारण यात्रु बोक्न नपाउने गरी यस्ता सवारीलाई आवश्यक खाद्य सामग्री ढुवानी कार्यमा सहजीकरण र सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिइएको छ । कहीँ कतै कुनै अप्ठ्यारो परेमा वा आवश्यक गुनासो, उजुरी, सुझाव र सल्लाहका लागि टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न आग्रह गरिएको छ । लकडाउन अवधिभर जो जहाँ हुनुहुन्छ, सोही अवस्थामा बसिदिन मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको उहाँले बताउनुभयो ।








































