काठमाडौं, ७ चैत २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन्। विश्वभर नोभल कोरोना भाइरसले महामारीको रुपमा लिइरहेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्ने भएका हुन्।
भिडभाड गर्न नहुने भएकाले सम्बोधनमा सरकारी सञ्चार माध्यमलाई मात्र बोलाइएको छ ।
गत फागुनमा मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउन सम्बोधनका क्रममा अन्य पत्रकारलाई रोकिने भएको हो।
सम्वोधन अगाडी प्रधानमन्त्री ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा कोरोनाको रोकथामका विषयमा छलफल भएको बताइएको छ ।
सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरण तथा रोकथामका लागि २५ जनाभन्दा धेरै एकै ठाउँमा भेला नहुन, अत्यावश्यक काममा मात्र बाहिर निस्कन आग्रह गरिसकेको छ ।








































