काठमाडौँ, ५ चैत २०७६ । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण काठमाडौँको चहलपहल सुनसान बन्दै गएको छ ।
चीनको वुहान सहरमा उद्गम भएको कोरोरा भाइरसको प्रभावले काठमाडौँ उपत्यका लगायत व्यस्त र मुटु मानिएको पर्यटन बजार ठमेल शून्यजस्तै लाग्न थालेको छ । अधिकांश विदेशी पर्यटकले भरिभराउ हुने ठमेल यतिबेला सुनसान छ । अंग्रेजी महिना मार्च, अप्रिल, मे मा पर्यटक आउने सिजन भए पनि कोरोना भाइरसका कारण ठमेल बजार सुनसान रहेको छ ।
त्यसैगरी, एसईई र त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित भए संगै काठमाडौँ उपत्यकामा सवारी साधन कम मात्रामा चल्न थालेका छन । दैनिक जसो सवारी साधन जाम हुने सातदोबाटो, थापाथली, जमल, कोटेश्वर, महाराजगंज, बालाजु लगायत अन्य ठाउमा सवारी साधनको चाप कम हुदै गएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय गरे लगतै आजदेखि काठमाडौँको चहलपहल निकै कम हुन थालेको छ ।
सरकारद्वारा गठित कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले कोरोना भाइरस नियन्त्रण गर्न सांस्कृतिक केन्द्र, संग्राहलय, तथा अभिलेखालयहरु चैत मसान्तसम्म बन्द गर्ने निर्णय समेत गरेको छ ।
पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।
नयाँ बसपार्क, पुरानो बसपार्कमा विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको छ । नयाँ बसपार्कमा अरुका दिनभन्दा हिजोआज घर जानके यात्रुको भीड लागेको छ ।








































