भक्तपुर, २८ फागुन २०७६ | पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर बम विस्फोट भएको छ ।
मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ ।
विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्। बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ ।
बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो । तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो ।
बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए ।








































