काठमाडौं, २३ फागुन २०७६ । बालुवाटार जग्गा प्रकरणमा जोडिएका व्यक्तिहरुलाई विशेष अदालत काठमाडौंले अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।
विशेष अदालतले ७४ जनालाई अदालतमा उपस्थित हुन फागुन १९ गते म्याद जारी गरेको छ ।
अदालतका अनुसार बालुवाटारस्थित सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा ल्याएर बिक्री गर्ने प्रकरणमा मुछिएका ७४ जनालाई अदालतमा उपस्थित भनिएको छ ।
उपस्थित हुन म्याद जारी हुनेमा नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छेदारसहित छन् । म्याद जारी भएका व्यक्तिहरु तोकिएको समयमा अदालत आएनन् भने पनि फैसला हुने अदालतको भनाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा नेता गच्छेदार, अख्तियारकै पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।








































