- ADVERTISEMENT -

कोरोनाविरुद्ध सचेतनामा सक्रियता

March 6, 2020
550
Shares
- ADVERTISEMENT -

बुटवल, २३ फागुन २०७६ । चीनबाट सुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै प्रदेशका विभिन्न निकाय र स्थानीय सरकारले सचेतनामूलक गतिविधिमा सक्रियता बढाएका छन् ।

स्थानीय प्रशासनले बढी भीडभाड हुने कार्यक्रम नगर्न भन्दै सूचना जारी गरेका छन् । नजिकिँदै गरेको होली, विद्यालयका समारोह, परीक्षा जस्ता कार्यक्रममा सावधानी अपनाउन सूचनामार्फत आग्रह गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रदेश ५ सरकारले कोरोना भाइरसको प्रकोपबाट बच्न प्रदेशका सरकारी अस्पतालमा ‘आइसोलेसन’ व्यवस्थापन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली प्रदेशको अनुगमनमा व्यस्त छ ।

प्रदेशका विमानस्थलहरूमा सर्विलेन्स र परामर्श केन्द्र सञ्चालनमा आएका छन् । विभिन्न जिल्लामा विभिन्न सङ्घसंस्था र सरकारी निकायले पूर्वनिर्धारण गरेका कार्यक्रम स्थगित गरेर सावधानी अपनाइएको छ । तर केही स्थानमा पूर्वनिर्धारित एकाध कार्यक्रम भने भएका छन् । केही स्थानीय सरकारले हात मिलाउने र नमस्ते गर्ने जस्ता अभियान पनि सञ्चालन गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

आइसोलेसन कक्ष

प्रदेश ५ सरकारले कोरोना भाइरसको प्रकोपबाट बच्न प्रदेशका सरकारी अस्पतालमा ‘आइसोलेसन’ व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोनाका सङ्क्रमित र शङ्कास्पद बिरामी भेटिए तत्काल उपचार अघि बढाउन आवश्यक संयन्त्र प्रयोग गर्नेगरी प्रदेश सरकार तयारी अवस्थामा रहेको बताउनुभयो ।

कोरोनाको सङ्क्रमण देखिइहालेमा बिरामीलाई राखेर उपचार गरिने छुट्टै कक्ष ‘आइसोलेसन’को व्यवस्थापन गर्न निर्देशन दिइएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले बताउनुभयो । शङ्कास्पद बिरामी भेटिएमा तिनलाई बोक्नका लागि विशेष एम्बुलेन्स तयारी अवस्थामा राख्नेगरी काम अघि बढाइएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । उहाँले प्रदेश सरकारले तीनवटै तहका सरकारको समन्वयमा कोरोना विरुद्धको अभियान अघि बढाउने छलफल भएको जानकारी दिनुभयो । उहाँले कोरोनाको चेकजाँचका लागि थर्मोस्केल र स्वास्थ्यकर्मीले प्रयोग गर्ने ‘पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट’ को व्यवस्थापनको तयारी गरिएको बताउनुभयो ।

मन्त्रालयले आइसोलेसन सहित फोकल पर्सन तोक्नका लागि प्रदेशका १४ वटा सरकारी र चारवटा मेडिकल कलेजलाई निर्देशन दिइसकेको छ भने अधिकांश सरकारी अस्पतालमा बिहीबारसम्म आइसोलेसन कक्ष स्थापना भइसकेको जनाएको छ । त्यसरी जानकारी पठाउनेमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, देवदह मेडिकल कलेज, देवदह छन् । त्यसैगरी युनिभर्सल मेडिकल कलेज भैरहवा, लुम्बिनी मेडिकल कलेज पाल्पा, युनाइटेड मिसन अस्पताल तानसेन र भेरी अस्पतालले पनि विवरण पठाएका छन् ।

अनुगमन टोली व्यस्त

बाँके स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन र फैलिइसकेपछिको तयारीको बारेमा जानकारी लिई आवश्यक योजना बनाउने उद्देश्यले अनुगमनमा व्यस्त छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आपूर्ति शाखा प्रमुख चुडामणि भण्डारी नेतृत्वको टोलीले बिहीबार नेपालगञ्जको जमुनाह नाकामा सञ्चालित हेल्थ डेस्कको स्थलगत अनुगन गरेको छ । टोलीले भेरी अस्पतालमा बाँके र बर्दियाका सरोकारवाला निकायसँग अन्तरक्रिया गरी आवश्यक जानकारी लिएको छ ।

उहाँले प्रदेश ५ का जिल्लामा कोरोना भाइरस विरुद्धको पूर्वतयारी रहेको पाइएको भन्दै आवश्ययक पोसाक र उपकरणका लागि मन्त्रालयका तर्फबाट पहल गरिने बताउनुभयो । उहाँले बजारमा मास्कको अभाव देखिएको भन्दै सम्पूर्ण नागरिकले मास्क प्रयोग गर्नुभन्दा पनि स्वास्थ्यकर्मी र शङ्कास्पद बिरामीलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ शाहले बाँकेमा दुई जना शङ्कास्पद व्यक्तिको नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएकोमा दुवै नकारात्मक पाइएको जानकारी दिनुभयो । कोरोना विरुद्ध सचेतना लगायतका कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोरोना विरुद्ध उच्च सतर्कता अपनाइएको भन्दै नेपाल–भारत जमुनाह नाका र नेपालगञ्ज विमानस्थलमा हेल्थ डेस्क सञ्चालन भइरहेको बताउनुभयो ।

बर्दियाका स्वास्थ्य प्रमुख गोकर्ण गिरीले भारतसँग सीमा जोडिएका चार नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले सेवा दिने स्वास्थ्यकर्मीको स्वास्थ्यका लागि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

रुपन्देही र पाल्पाको स्थलगत अनुगमनपछि नेपालगञ्ज आएको टोलीले शुक्रबार रुपन्देहीमा प्रदेश सरकारसँग आवश्यक तयारीका बारेमा छलफल गर्ने छ ।

विमानस्थलमा परामर्श केन्द्र

भारतमा समेत कोरोना भाइरसका सङ्क्रमित भेटिएपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ । सो क्रममा हवाईमार्ग र स्थलमार्ग दुवैबाट नेपालगञ्ज आउने यात्रुलाई कडा निगरानी गर्न थालिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

यसअघि नै नेपाल–भारत जमुनाहा नाकामा कारोना भाइरस सर्विलेन्स एवं परामर्श केन्द्र सञ्चालन गरेर स्थलमार्गबाट आउनेको स्वास्थ्य परीक्षण हुँदै आएकोमा बिहीबारदेखि नेपालगञ्ज विमानस्थलमा समेत कोरोना भाइरस सर्विलेन्स एवं परामर्श केन्द्र सञ्चालन गरेर हवाईमागबाट आउनेको परीक्षण सुरु गरिएको सो कार्यालयले जनाएको छ ।

हवाईमार्गबाट नेपालगञ्ज आउने सबै यात्रुको भाइरस सर्विलेन्स एवं परामर्श केन्द्रमा स्वास्थ्य परीक्षण गर्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताउनुभयो । हुम्ला, डोल्पा र जुम्ला लगायतका पहाडी जिल्ला र राजधानीबाट समेत आउने सबै यात्रुको परीक्षण गरेर मात्र आउन दिइएको उहाँले बताउनुभयो । उहाँले सबै यात्रुको ज्वरो परीक्षण गर्नुका साथै अन्य स्वास्थ्य समस्याबारे पनि जानकारी लिइएको बताउनुभयो ।

होली खेल्न रोक
भैरहवा समाचारदाताका अनुसार अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भीडभाड गरेर होली नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न रुपन्देही प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले विशेष सूचना जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।

जिल्लाका कुनै पनि स्थानमा मानिसको भीडभाड तथा जमघट हुने गरी सार्वजनिक सभा, समारोह, गोष्ठी, ¥याली, धार्मिक मेला, महायज्ञ एवं मेला, महोत्सव तथा भोज भतेर जस्ता कार्यक्रम गर्नका लागि अनुमति प्रदान नगर्न समेत प्रशासनले स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।

प्रशासनले नियमित रुघाखोकी लागेमा वा उच्च ज्वरो आएमा तथा कोरोना भाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जँचाउन पनि अनुरोध गरेको छ । जिल्लाका सबै स्थानीय तहलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ ।

कार्यक्रम स्थगित

तानसेनमा ‘कोरोना भाइस’को त्रास बढेपछि जिल्लाका प्रायः सबै क्षेत्रमा प्रभाव परेको छ । विभिन्न सङ्घसंस्था तथा सरकारी निकायले आयोजना गरेका पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेर सावधानी अपनाइएको छ ।

तानसेनको बौघागुम्हास्थित ‘रानीमहल’ क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले राम्दी रिडी समाजले आयोजना गरेको ‘रानीमहल महोत्सव’ स्थगित भएको छ । समाजले यही फागुन २६ गतेदेखि ३० गतेसम्म आयोजना गरेको ‘रानीमहल महोत्सव’ ‘कोरोना भाइरस’का कारण स्थगित गर्नुपरेको समाजका अध्यक्ष सेमन्तमणि खरालले जानकारी दिनुभयो । रामपुर नगरपालिकाले फागुन २४ देखि ३० गतेसम्म आयोजना गरेको रामपुर पर्यटन महोत्सव स्थगित गरिएको छ । ‘कोरोना भाइरस’बाट सङ्क्रमण फैलिन सक्ने भन्दै महोत्सव स्थगित गरिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिनुभयो ।

पाल्पाका स्थानीय तहहरूले कोरोना भाइरस फैलिन सक्ने भन्दै पूर्वनिर्धारित सभा÷समारोह स्थगित गरेपछि जिल्लाका कतिपय बजारमा उपभोक्ताको चहलपहल घटेको छ । जिल्ला सदरमुकाम तानसेन, रामपुर, अर्गली, हार्थोक, सराई लगायतका बजारमा किनबेच गर्ने उपभोक्ता तथा व्यापारीको चहलपहल घटेकोे होटल व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

दुई साताअघिसम्म दिनहुँ आन्तरिक र बाह्य पर्यटक आउने गरेकोमा एक सातादेखि भने पर्यटक आउनै छाडेको तानसेनस्थित नाङ्लो बेस्टका म्यानेजर रविन शाक्यले बताउनुभयो ।

नमस्कार अभियान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिमलाई रोक्न हात मिलाउनुको साटो नमस्कार संस्कृतिलाई अनुसरण गर्न नगरवासीलाई आह्वान गरेको छ ।

कार्यपालिका बैठकमा स्वास्थ्य शाखाले तयार पारेको कोरोना जोखिम पूर्वतयारी योजनालाई स्वीकृत गर्दै नगर प्रमुखको संयोजकत्वमा पूर्वतयारी निर्देशक समिति गठन गरेको छ । बैठकले कोरोना भाइरस सङ्क्रमणको शङ्का लागेका बिरामीको उपचार व्यवस्था मिलाउन वडा नं. ७ स्थित बीपी ग्रामलाई प्रयोगमा ल्याउन सकिने ठहर गर्दै त्यहाँ आवश्यक सर्जिकल, मेडिकल तथा जनशक्ति व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -