काठमाडौँ, २० फागुन २०७६ । नेपाली कांग्रेसले कोभिड–१९ बाट नेपाललाई सुरक्षित बनाउन उच्च सतर्कतासम्बन्धी १४ बुँदे अपिल गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखमा मनोनयन भएपछि पहिलोपल्ट पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिडबारे सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत अपिल जारी गरेका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालसमेत उच्च जोखिममा रहेको घोषित गरिसकेको अवस्थामा त्यस्तो जोखिम सामना गर्न सरकारले समयमै गम्भीर भएर राष्ट्रिय पहलकदमी लिनुपर्ने कांग्रेसको माग छ ।
कोभिड संक्रमित मुलुकको सूची जारी गरी ती देशमा हुने भ्रमणमा अस्थायी रूपले तत्काल रोक लगाउनुपर्ने, संक्रमण फैलिएका मुलुकसँग नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउनुपर्ने कांग्रेसको माग छ । त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलको जाँच प्रक्रिया कामचलाउ देखिएको भन्दै कांग्रेसले आपत्तिसमेत प्रकट गरेको छ । ‘प्रवेशद्वारमा कठोर ढंगको कडाइ गरिएन तर भाषणका मञ्चबाट सतर्कताको अपिल मात्रै जारी गरियो भने स्थिति भयावह हुन सक्छ,’ अपिलमा भनिएको छ, ‘सरकार यो परिस्थितिप्रति गम्भीर बनोस् ।’
स्थलगमार्गबाट नेपाल प्रवेश गर्ने केरुङ नाकाबाहेक अरू नाकामा निर्बाध प्रवेश जारी रहेको भन्दै त्यसमा कडाइ गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । सबै नाकामा विशेष स्वास्थ्य जाँच केन्द्र स्थापनाका लागि पनि कांग्रेसले माग गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण किटको कमी हुन सक्ने र परीक्षणका लागि दक्ष जनशक्तिको अभाव हुन सक्ने खतरालाई समयमै ध्यान पुर्याई आवश्यक बन्दोबस्त यथाशीघ्र मिलाइनुपर्ने, संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीलाई समेत हुन सक्ने जोखिम हटाउन विशेष प्रकृतिको एप्रोन र उपकरणको अभाव हुन नदिन कांग्रेसले सरकारसँग माग गरेको छ ।
मास्क पर्याप्त उपलब्ध गराउन, सम्भावित खाद्य संकट हुन सक्नेतर्फ समयमै सतर्कता पुर्याउन, दक्षिण कोरियालगायतका देशमा रहेका नेपालीलाई संक्रमणबाट सुरक्षित गर्न र अत्यावश्यक परे उद्धार गर्न आवश्यक रणनीति अवलम्बन गर्न पनि कांग्रेसको माग छ ।
‘ठूला र समृद्ध राष्ट्रसमेत कोरोनासँग जुध्न संघर्षरत रहेको बेला छिमेकीहरूको प्रबन्धले हामी ढुक्क छौं भन्ने प्रकृतिको हास्यास्पद एवं गैरजिम्मेवार अभिव्यक्ति र व्यवहार हाम्रा लागि महँगो पर्न सक्छ,’ कांग्रेसले भनेको छ, ‘सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर बन्न सरकारलाई अन्तरिम आदेश जारी गरिसकेको छ । अतः जोखिम सामना गर्न कुनै पनि ढंगको कमजोरी र सम्झौता नगर्न सरकारलाई सार्वजनिक अपिल गर्दै समस्त नेपालीमा संयमतापूर्वक सतर्कताका लागि कांग्रेस अपिल गर्दछ ।








































