काठमाडौं, १९ फागुन २०७६ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई मद्दत गर्न चाहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै सांसद थापाले कोरोना भाइरसको संक्रमणबाट सचेत हुँदै सरकारले चालेका कदम ठीक भएको बताएका छन् ।
कोरोना भाइरस मुक्त नेपाल भन्ने लहडी कुराबाट सरकार मुक्त हुनु ठीक भएको सांसद थापाले जनाएका छन् । केही दिनअघि सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले नेपाललाई कोरोनामुक्त भन्दै विदेशी पर्यटकलाई नेपाल घुम्न आउन आह्वान गरेका थिए ।
‘कोरोना भाइरस मुक्त नेपाल’भन्ने लहडी कुराबाट मुक्त भएर जोखिमको सम्बन्धमा सरकारका पछिल्ला निर्णय ठिक छन तर अपर्याप्त छन् । संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छौं । जोखिमसँग जुध्न राष्ट्रिय संकल्प जरुरी छ । प्रधानमन्त्रीज्यू हामी सरकारलाई प्रश्न मात्रै होइन, मद्दत गर्न चाहान्छौं ।’ थापाले लेखेका छन् ।








































