काठमाण्डौँ, १३ फागुन २०७६ । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग
शिष्टाचार भेटवार्ता गरेका छन्।
सोमबार राजदूत युसुफले सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर भेट गरेका हुन् ।
उहाँले सन् २०२२ कतारमा हुने विश्वकप फुटबलका लागि निर्माण भइरहेको रङ्गशालामा नेपाली कामदारले गरेको कामको प्रशंसा गर्नुभएको हो ।
भेटमा सभामुख सापकोटाले ४२ वर्षदेखि नेपाल र कतारबीच मित्रवत् सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रमण वर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद दिनुभयो ।
सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुटबलको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापीरुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्तरुपमा पहलकदमी लिनुपर्ने बताउनुभयो ।
राजदूत युसुफले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एअरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै नेपालको एअरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको बताउनुभयो ।
उहाँले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताउनुभयो । राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘नेपालमा क्रिकेट रङ्गशाला निर्माण गर्न पनि हामी सहयोग गर्न चाहेका छौँ’, राजदूत युसुफले भन्नुभयो ।








































