काठमाडौं, ४ फागुन २०७६ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले चीनबाट नेपालीलाई उद्धार गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् । कोरोनाभाइरसको त्रासका बीच चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याएकोमा थापाले नेपाल सरकार,सम्बन्धित सबै निकाय र व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
सामाजिक संजालमा थापाले लेखेका छन्, ‘कोरोना भाइरसको इपिसेन्टर चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गरी ल्याउने कार्यमा संलग्न नेपाल सरकार,सम्बन्धित सबैनिकाय र व्यक्तिहरूलाई धन्यवाद१ति नेपालीको स्वास्थ्य,सुरक्षा,हेरचाह लगायत आवश्यक सम्पूर्ण व्यवस्थापनमा सरकारको प्रयासमा सबैको सहयोग आवश्यक छ।हामी सरकारको साथमा छौ ।’
सरकारले नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इञ्जिनीयर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार चीनको वुहान पठाएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर विमान आज बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।
चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हँुदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए ।








































