काठमाडौं, २५ माघ २०७६ । युवा अलराउण्डर कुशल मल्लले एकदिवसीय (ओडीआई) क्रिकेटमा विश्व किर्तिमान बनाएका छन् ।
बायाँ हाते मल्लले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्धशतकीय पारी खेल्दै सर्वाधिक सानो उमेरमा अर्धशतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् ।
कुशलले अमेरिकासँगको खेलमा ४९ बलमा ४ चौका र ३ छक्का सहित ५० रन बनाएका हुन् । उनी ५० रन बनाएरै आउट हुन पुगे । कुशल आज १५ वर्ष ३ सय ४० दिनका रहेका छन् ।
यसअघि नेपाली क्रिकेटर रोहितकुमार पौडेलले कम उमेरमै अर्धशतक प्रहार गर्ने ब्याट्सम्यानको रेकर्ड बनाएका थिए ।
आईसीसीले मान्यता दिएको एक दिवसीय क्रिकेट प्रतियोगितामा रोहितले यूएईविरुद्ध अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि पाकिस्तानका साइद अफ्रिदीको नाममा रहेको सबैभन्दा कम उमेरमा प्रहार गरेको अर्धशतकको रेकर्ड ब्रेक गरेका हुन् ।
उनले १६ वर्ष चार महिना २४ दिनमा अर्धशतक प्रहार गरेका हुन्। अफ्रिदीले सन १९९६ मा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए । त्यतिबेला अफ्रिदी १६ बर्ष २१७ दिनका थिए ।
रोहितले यूएईलाई ५८ बलमा सात चौकाको मद्दतमा ५५ रन जोडेका थिए । उनले त्यस समय यूएईविरुद्ध ५५ रन जोड्दा २७ वर्ष पुरानो रेकर्ड तोडिएको थियो।









































