काठमाडौं, २० माघ २०७६ । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
माघ २२ बाट नेपालमा सुरु हुन लागेको ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आफूले हात पार्ने प्रत्येक विकेटबापत निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई ८८४८ रुपैयाँ दिने सन्दीपले घोषणा गरेका हुन् ।
आफूले नेपाली क्रिकेटको युवा पुस्ता सगरमाथाको उचाइभन्दा पनि माथि पुग्ने सपना देखेको तर त्यसका लागि उपयुक्त सुविधा नभएको भन्दै लामिछानेले सहयोग घोषणा गरेका हुन् ।
‘मैले नेपाली क्रिकेटको एउटा सपना देखेको छु । त्यस्तो सपना जहाँ हाम्रो युवा तथा निकै ट्यालेन्ट पुस्ता हाम्रो विशाल सगरमाथाभन्दा पनि माथि पुग्ने शक्ति हुनेछ । हामीसँग निकै निकै कमजोर क्रिकेट मैदान छ र पनि हाम्रो टोलीको दृढता र साहस कहिल्यै घटेको छैन,’ लामिछानेले भनेका छन्, ‘यो सपना र नेपाली क्रिकेटको भविष्यमा लगानी गर्न पहिलो कदमस्वरुप म फेब्रुअरी ५ देखि १२ सम्म हुने आइसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ मा अमेरिका र ओमनविरुद्ध नेपालले खेल्ने खेलमा मैले लिने प्रत्येक विकेटबापत ८८४८ रुपैयाँ दान दिने घोषणा गर्दछु ।’
त्यो दानको सबै हिस्सा चितवनमा निर्माणाधीन अत्याधुनिक गौतम बुद्ध इन्टरनेसनल क्रिकेट रंगशालालाई जाने पनि उनले प्रस्ट पारेका छन् ।









































