- ADVERTISEMENT -

ऐतिहासिक हिटीमाथि बिल्डिङ, सपिङ मल र सडक

February 3, 2020
797
Shares
- ADVERTISEMENT -

काठमाडौं, २० माघ २०७६ । नेपाली भाषामा ‘हिटी’ को अर्थ धारा, पानीका मुहान वा पधेँरो हो । उपत्यकामा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका यस्ता हिटीमा एकदेखि २२ वटासम्म पनि धारा थिए । एकैपटक धेरै जनाले उपभोग गर्न सक्थे ।

जीर्ण अवस्थामा रहेका कतिपय हिटीमा पानी छैन, त कतिपयमा पानी भए पनि व्यवस्थित छैनन् । कतिपयको भने संरक्षण अभियन्ताहरूले उत्खनन गरेर मर्मत सम्भार गरेका छन् । अव्यवस्थित सहरीकरणले सहरका पुरातात्विक सम्पदामाथि अतिक्रमण भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

हिटी जोगाउन सामाजिक सञ्जालमा अभियान

लोप हुने अवस्थामा रहेका ढुंगेधारा र हिटी संरक्षणका लागि अहिले सामाजिक सञ्जालबाट एउटा अभियान चलेको छ । अभियन्ताहरूले काठमाडौं, भक्तपुर र ललितपुरसम्म डुलेर ढुंगेधाराहरूको उत्खनन गर्न थालेका छन् ।

- ADVERTISEMENT -

Advertisement

अभियन्ताहरूले ऐतिहासिक र पुरातात्विक महत्वका हिटी जोगाउन पुरातत्व विभाग र सरकारको ध्यानाकर्षण मात्रै गराएका छैनन्, आफैँ कुटो, कोदालो बोकेर उत्खनन र सरसफाइमा जुटेका छन् । अभियन्ता यादवलाल कायस्थ भन्छन्, ‘हिटी बचाउन हामीले पुरातत्व विभाग र अन्य सरकारी निकायलाई भन्यौँ, तर कसैले सुनेन, त्यसैले आफैँले अभियान थाल्यौँ ।’ अभियन्ताको टोलीले उपत्यकामा १५ वटा हिटी उत्खनन गरिसकेको छ ।

¥याली परोपकार पुलछेउको वास्तविक सुन्धारा, छाउनी, किमडोल, बिजेश्वरी, छत्रपाटी, पकनाजोल, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, हात्तीसार, नक्साल, ज्ञानेश्वर, गौशाला, तीनकुने, पेप्सीकोला, ठिमी, कमेरेटार, ग्वार्को, बंगलामुखी हुँदै पाटनको भंग हिटी पुगेर समापन भएको उनले बताए ।

‘मैले पढ्दा उपत्यकामा तीन हजारभन्दा बढी हिटी थिए, तर ०५२ सालतिर खानेपानी मन्त्रालयले प्रकाशन गरेको तथ्यांकअनुसार अहिले पाँच सय ९४ हिटी उल्लेख छ ।’ उनी भन्छन्, ‘तर अहिले उपलब्ध हिटीमध्ये पनि ६० प्रतिशत हिटी काम लाग्ने अवस्थामा छैनन् ।’

३५ प्रतिशतमा मात्रै पानी

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले दुई वर्ष लगाएर गरेको अध्ययनअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा पाँच सय ७३ वटा ढुंगेधारा अर्थात् हिटी छन् । तीमध्ये चार सय ७९ वटा मात्रै स्थलगत रूपमा भेटिएका छन् । बाँकी ९४ मध्ये ५२ ढुंगेधाराको अस्तित्व मेटिएको छ ।

४२ वटा भने मासिए या के भए यकिन छैन । स्थलगत रूपमा भेटिएका मध्ये एक सय ६९ धारामा मात्रै अहिले पानी आउँछ । बाँकी तीन सय १० धारामा पानी आउँदैन । बोर्डले प्रकाशन गरेको पुस्तकमा उल्लेख भएअनुसार उपत्यकाका ३५।७ प्रतिशत ढुंगेधारामा मात्रै पानी आउने गरेको छ 

हिटी संस्कृतिसँग जोडिएका छन्

डा. सन्ध्या खनाल पराजुली

उपप्राध्यापक, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग, त्रिवि

उपत्यकाका हिटीहरूको स्रोत भनेको सतहको पानी मात्र होइन, यहाँ चलेका राजकुलो र पोखरी पनि हुन् । सहरीकरणले यहाँका राजकुलो मासिए, लेलेबाट पाटन दरबारसम्म ल्याइएको राजकुलो पनि खुमलटारसम्म मात्र बाँकी छ । अरू राजकुलो कतै सडक र कतै सहरीकरणले मासिए । राजकुलोको पानी जम्मा गरेर बनाइएका पोखरी पनि सुके । कुलो र पोखरीले पानी रसाउने हो ।

अहिले जमिनमा कंक्रिट मात्र छ । मान्छेहरू हिटीमा गएर पानी पिउनेभन्दा घरैपिच्छे पम्प राख्न थालेका छन् । अब त जमिन रसाउने हैन, कि जमिनमा भएको पानी पनि जमिनमुनिको सतहमा पुग्दैन । बाँकी रहेका धारा प्राकृतिक मुहानबाट भन्दा बढी वर्षा हुँदा पानी बग्ने, नभए सुक्ने धेरै छन् । उपत्यकामा नेवारहरूले मासिन थालेका धारा, कुवा, इनार सफा गर्न सिटी नःख पर्व मनाउँथे, अहिले त यो पनि हराउन थाल्यो ।

नेपाली संस्कृतिमा धारा गंगाको प्रतीक हो । धारामा ‘मकर’आकृति कुँद्ने, मूर्ति र अन्य देवदेवताका तस्बिर राखिनुको कारण पनि यसको धार्मिक र सांस्कृतिक पक्षसँग जोडिएको छ । यसैले हिटीलाई शुद्ध पानी पाइने स्थल वा तीर्थस्थलका रूपमा लिइन्छ ।

उपत्यकामा रहेका नेवारहरू यहाँको संस्कृतिका संरक्षक हुन् । अहिले उनीहरूले वर्षौँदेखि जोगाएको संस्कृति मासिँदै गएको छ । सार्वजनिक स्थानमा हुने हिटीबाट मान्छेले पानी मात्रै पिउँदैनथे, यसले समाजमा भाइचारा कायम गरेको थियो । एक आपसमा आत्मीयता बढाउने र समाजमा मिलेर बस्ने संस्कृतिको विकासमा हिटीले मद्दत पुर्‍याएका थिए ।

विशेषगरी राजधानीमा राजाहरूले पुण्यवृद्धि गर्ने वा लोकको भलो चाहेर सार्वजनिक ठाउँमा हिटीहरू निर्माण गरेको पाइन्छ । खैर, जे भए पनि सबैको उद्देश्य भनेको पिउने पानीको सुविधा दिनु नै थियो । धार्मिक र सांस्कृतिक रूपमा त धारा मानिससँग यसरी जोडिएको छ कि उपत्यकाका कतिपय धारामा पानी सुक्ने हो भने मानिसहरू बाँच्नै नसक्ने किसिमको विश्वास छ । नयाँ पत्रिका दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -