काठमाडौं, १७ माघ २०७६ । चावहिल मालपोतका एकजना पियनसँग नौ करोड जति अवैध सम्पत्ति भेटिएको छ ।
अख्तियारले चावहिलस्थित मालपोत कार्यालयका सहयोगी (पियन) राजेन्द्र बस्नेतले अवैध तरिकाले ९ करोड सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार एक विज्ञप्ति जारी गर्दै सोही दिन बस्नेतविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी गराएको हो । अख्तियारले बस्नेत र उनको परिवारका सदस्यको नाममा नौ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति भेटिएको जनाएको छ ।
उक्त सम्पत्तिमध्ये आठ करोड ९८ लाखको स्रोत नखुलेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । स्रोत नखुलेको सम्पत्तिलाई अवैध ठहर गर्दै अख्तियारको दई वर्ष कैद र बिजो बराबर जरिवाना तथा स्रोत नखुलेको आठ करोड ९८ लाख जफत गर्न माग गरेको छ ।
२०४५ सालदेखि मालपोतमा सबैभन्दा तल्लो पदमा कार्यरत बस्नेतको जीवनशैली अस्वाभाविक देखिएपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियार बस्नेतको सेवा अवधिको आम्दानी विश्लेषण गरी भ्रष्टाचार गरेको निष्कर्षमा पुगेको हो । तलब, बचत, आय, घरजग्गा बिक्री, सवारीसाधन बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचतसमेत हिसाब गर्दा उनको परिवारको वैध आम्दानी ७४ लाख ७३ हजार देखिएको अख्तियारले जनाएको ।
बस्नेत मालपोतमा जागिरे रहँदा नक्कली रसिदबाट राजस्व असुनेर सरकारी कोषमा दाखिला नगर्ने लगायत गैरकानुनी काममा संलग्न रहेको भन्दै गत वर्ष पनि विशेष अदालतमा मुद्दा परेको थियो । त्यतिखेरै उजुरीको क्रममा अख्तियारले नियन्त्रणमा लिँदा ११ लाख रूपैयाँ बरामद गरेको थियो ।
आफू र परिवारका सदस्य लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा उनले जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकहरू खर्च र लगानी गरेको अख्तियारको अनुसन्धानबाट पत्ता लागेको छ । उनले श्रीमती सीता बस्नेतको नाममा ६ करोड ७४ लाखको घरजग्गा किनेको र आमाको जग्गामा ६२ लाख ९० हजारको घर बनाएको अख्तियारले जनाएको छ ।








































