काठमाडौँ, माघ ६ गते आइतबार । एकीकरण मार्ग अभियान बृहत सेमिनार तथा प्रदर्शनी २०७६ समापन भएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले एक विशेष समारोहका बिच जंगी अड्डामा बिहीबार उद्घाटन गर्नुभएको एकीकरण मार्ग अभियान बृहत सेमिनार तथा प्रदर्शनी २०७६ को माननीय उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले आज आइतबारका दिन जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच समापन गर्नु भएको छ ।
एकीकरण मार्ग कार्यक्रम अन्तर्गत “एकीकरण मार्गको चाहना : रास्ट्रिय एकताको भावना” भन्नु मूल नाराका साथमा आर्मी अफिसर क्लबमा सुरु भएको एकीकरण मार्ग सम्बन्धी बृहत सेमिनार तथा प्रदर्शनी माघ २, ३ र ५ गतेसम्म संचालन भएको थियो ।
पृथ्वीनारायण शाहले एकीकरणको समयमा युद्धमा प्रयोग गरेका सामग्रीहरु नेपाली सेनाले प्रदर्शनमा राखिएको थियो । राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारीसमेत प्राप्त गरेको नेपाली सेनाले शुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु भएको कार्यक्रमलाई थप व्यवस्थित बनाउन ‘इतिहास संरक्षण एवं सम्बर्द्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिका-२०७८’ समेत लागू गरी कार्य सम्पादन शुरु गरिएको छ ।
कार्यक्रम समापन सत्रको सम्बोधन गर्नु हुदै माननीय उप-प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले एकीकरण मार्ग कार्यक्रमसँग सम्बन्धित सरोकारवालाहरु, स्थानीय सर्वसाधारण, सुरक्षा निकाय तथा यस विषयसँग सम्बन्धित बुद्धिजिवीहरु बीचमा एकिकृत कार्य शैलीको विकास हुने विचार व्यक्त गर्नु भयो ।
साथै, उहाँले स्थानीय स्तरमा ऐतिहासिक तथा पुरातात्विक विषयहरुमा ज्ञानको अभिवृद्धि हुन गई यस कार्यक्रमसँग सम्बन्धित दीर्घकालीन महत्व राख्ने भौतिक संरचना लगायत सबै प्रकारका दस्तावेजहरु र स्थलहरुको संरक्षण हुनुका साथै स्थानीय पर्यटनको विकासमा समेत ठूलो सहयोग पुग्ने बताउनु भयो ।
सम्बोधनका क्रममा उहाँले एकीकरण मार्ग कार्यक्रमको कार्यान्वयन पश्चात स्थानीय स्तरमा यातायत, संचार, विद्युत, शिक्षा, स्वास्थ्य तथा पर्यटनलगायत पूर्वाधारहरुको गुणस्तरिय विकास हुन गई स्थानीय व्यापार व्यवसाय र आर्थिक गतिविधिहरुमा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । साथै, उहाँले उक्त बहु-आयामिक कार्यक्रमलाई दीर्घकालिन सोच राखेर विकास गर्न सकिएमा बृहत् राष्ट्रिय हितमा योगदान पुग्ने विचार राख्नु भएको थियो ।
नेपाल सरकारको आगामी नीति तथा कार्यक्रममा आवश्यक बजेट सहित सेमिनारबाट पारित भई प्रस्ताव हुने कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विशेष पहल गर्ने समेत बताउनु भयो ।
तीन दिनसम्म संचालन भएको उक्त कार्यक्रममा विभिन्न गढी, किल्ला, तथा संग्रहालय सम्बन्धी प्रस्तुतिकरण सहित सामुहिक छलफल समेत संचालन गरिएको थियो ।
साथै उक्त सेमिनारमा “अनुसन्धान, प्रकाशन तथा प्रवर्द्धन” सम्बन्धी विज्ञबाट नेपाल एकीकरणको इतिहास पुस्तक लेखन सम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत तथा एकीकरण मार्ग कार्यक्रम सम्बन्धी वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा प्रधान सेनापति, नेपाल सरकारका सचिवहरु, भूतपूर्व प्रधान सेनापतिहरु, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, विभिन्न मन्त्रालय तथा विभागहरुका महानिर्देशकहरु तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, सञ्चारकर्मी र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
समय समयमा यस्ता खालका कार्यक्रमले नेपाली सेनाका सवै तह लगायत सम्बद्ध सरकारी तथा गैर सरकारी निकायहरुले समेत ईतिहास संरक्षण, सम्वर्द्धन र प्रर्वद्धन गरी दिगो बिकासको लागि पर्यटन प्रर्वद्धन मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनुका साथै सम्बद्ध सवै
सरोकारवालाहरुले एकीकरण मार्ग कार्यक्रमलाई समान रुपमा बुझ्न गई अपनत्व समेत महसुस गराउने विश्वास नेपाली सेनाले लिएको छ ।
युद्ध तथा सेनासँग जोडिएका विभिन्न सामाग्रीहरु उक्त प्रदर्शनीमा राखिएको थियो । पृथ्वीनारायण शाहले एकिकरणका बेला प्रयोग गरेका खाने कुरादेखि उहाले प्रयोग गर्नु भएका विभिन्न बस्तुहरु प्रदर्शनीको मुख्य आकर्षण रहेका थिए ।








































