ललितपुर, १७ पौष २०७६ । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता माघ २ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १२ टिमका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष विनोद महर्जनले आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
कराते, उसु, बक्सिङ, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, मुवाँथाई, किक बक्सिङ र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) को सहभागिता रहने अध्यक्ष विनोद महर्जनले जानकारी दिनुभयो ।
पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ । प्रत्येक स्पर्धामा पहिलो स्थान हासिल गर्ने प्रतियोगीले नगद राशी ३० हजार, त्यसैगरी, दोश्रो स्थान हासिल गर्ने प्रतियोगीले नगद राशी १५ हजार र तेश्रो स्थान हासिल गर्ने प्रतियोगीले दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार पाउने छन् ।
उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । टिममा शीर्ष स्थान हात पार्नेलाई १ लाख र दोश्रोलाई ५० हजार नगद पुरस्कार दिइने छ ।
आयोजक संघका संरक्षक एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले विगतको भन्दा प्रतियोगिता भब्य र व्यवस्थित हुने बताउनु भयो । तीनदिने प्रतियोगिताका खेलहरु चापागाउँस्थित प्याङगाउँचौरमा हुने आयोजकले जनाएको छ ।









































