एजेन्सी, १४ पौष २०७६ । इटालियन क्लब युभेन्टसका फरवार्ड तथा पोर्र्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले ‘बेस्ट मेन्स प्लेयर २०१९’ घोषित् भएका छन् ।
आइतबार राति दुबइमा आयोजित भब्य समारोहकाबीच युरोपियन एसोसियसन अफ् प्लेयर एजेन्ट नामक संस्थाले रोनाल्डोलाई वर्ष खेलाडी घोषणा गर्दै ‘ग्लोब सक्कर अवार्ड’ प्रदान गरेको हो ।
रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी र लिभरपुलका स्टार भर्जिल भान डाइकलाई उछिन्दै यो अवार्ड हात पार्न सफल भएका हुन् । २०१८–१९ को सिजनमा युभेन्टसलाई २ वटा उपाधि दिलाएको र आफ्नो राष्ट्र पोर्चुगललाई यूइएफए नेशन्स लिगको उपाधि दिलाउन महत्वपुर्ण भुमिका खेलेका रोनाल्डोलाई यो अवार्ड प्रदान गरिएको हो ।
३४ वर्षीय रोनाल्डोले छैटौं पटक यो अवार्ड जितेका हुन् । योसँगै उनी सर्वाधिक ग्लोब सकर अवार्ड जित्ने खेलाडी समेत बनेका छन् । अवार्ड स्थापनाको १० वर्षमा रोनाल्डोले ६ पटक बाजी मार्दा मेस्सीले एक पटक मात्र जितेका छन् ।
यस पटक यो अवार्डको मनोनयमा लिभरपुलका स्टार भान डाइक र मेस्सीबाहेक मोहम्मद सालाह, साडियो माने, एलिसन बेकर, म्यानचेष्टर सिटीका बर्नान्डो सिल्भा परेका थिए ।









































