काठमाडौं, २७ मङ्सिर २०७६ । गत मङ्सिर २४ गते समापन भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा कार्यक्रम समापन गरिएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो ।
नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेपको कार्यालयबाट सुरुवात गरिएको थियो । कार्यक्रमको सुरुआतमा राखेपका उपाध्यक्ष एवं नेपाली टोलीका सेभ दि मिसन पिताम्बर तिमिल्सिना, संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीसहित अन्य उपस्थित महानुभाबहरु न्युरोड गेट, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटिमण्डपसम्म पैदल यात्रा गरिएको थियो ।
पैदल यात्रा नगर परिक्रमाका दौरान अगाडि भागमा नेपाली सेनाको व्यान्ड बाजाको साथ रहेको थियो । भृकुटिमण्डपबाट संयुक्त रुपमा सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुेश्वरस्थित पुन: राखेपकोकार्यालयमा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार कोटश्वरदेखि सूर्यविनायकसम्म तय गरिएको रुट भने वर्षाका कारण स्थगित गरिएको थियो ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ७ राष्ट्रका खेलाडी सहभागी खेलकुद प्रतियोगितामा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोश्रो भएको थियो । जुन सागमा अहिलेसम्मकै नेपालको उत्कृष्ट प्रदर्शन हो । सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा पनि नेपाल दोश्रो भएको थियो । त्यसबेला भने नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो ।









































