काठमाडौं , २७ मंसिर २०७६ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१७९औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १०औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा गृहमन्त्री थापाले तालिममा सर्वप्रथम, शारीरिक व्यायाम तथा आत्मवल अभिवृद्धि र प्रहरी युक्ति तथा कारबाही प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरीक्षक किरण राउत, सर्वद्वितीय, अध्ययन र कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अनिल थापा, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक सुवास खतिवडा र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक देवराज भट्टराईलाई पुरस्कार प्रदान गर्नुभयो ।

उक्त अवसरमा गृहमन्त्री थापाले नेपाल प्रहरीले विभिन्न अड्चन तथा चुनौतिको सामु आफूलाई संयमित राख्दै पारदर्शी र निष्पक्ष कार्यशैलीकासाथ व्यावसायिक धर्म निर्वाह गर्नु पर्ने बताउनुभयो । नागरिकको संविधानप्रदत्त मैलिक हक तथा मानवअधिकारको संरक्षण, सम्बर्द्धन र राज्यका निर्देशक सिद्धान्तको अनुशरण तथा नीतिहरुको कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन नेपाल प्रहरीका सकल दर्जाले अहम भूमिका निर्वाह गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

गृहमन्त्री थापाले सीमित श्रोत साधन र अनेक जटिलताकाबीच नेपाल प्रहरीले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउँदै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । नागरिकले प्रहरीप्रति राखेको विश्चास र भरोसालाई थप प्रगाढ र मजबुत बनाउन कर्तव्य पालना गर्नुको अर्को विकल्प नरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘जिम्मेवारी निर्वाहमा हुने सानो लापरवाहीले सिंगो संगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुन्छ । राज्यले नेपाल प्रहरीबाट गरेको अपेक्षाबाट विमुख हुने अवसर तपाईंहरुलाई छँदै छैन ।’

प्रशिक्षार्थीहरुले प्रशिक्षित भइसकेपछि दिनसक्ने सबै भन्दा ठूलो प्रतिफलनै आमनागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति, न्यायको अभ्यास र राज्यप्रतिको विश्वासमा अभिवृद्धि रहेको बताउँदै गृहमन्त्री थापाले यसका लागि सिनियर अफिसरका रुपमा परिस्थिति अनुरुप सृजनात्मक हुन जरुरी रहेको तथा प्रशिक्षणमा हासिल गरेका सैद्धान्तिक, व्यावहारिक तथा प्रयोगात्मक ज्ञानले समस्या पहिचान गर्ने र त्यसलाई समाधान गर्ने विवेक प्राप्त भईसकेको विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कानुनले निर्दिष्ट गरेका जिम्मेवारीहरुका अतिरिक्त जनअपेक्षा अनुरुप नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने सामाजिक एवं नैतिक जिम्मेवारीहरुको दायरा समेत फराकिलो रहेको बताउँदै गृहमन्त्री थापाले अबको प्रहरी अपराध अनुसन्धान र शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षहरुसँग गाँसिएको र नेपाल प्रहरी संगठनले अंगिकार गरेको ‘समुदाय-प्रहरी साझेदारी’ अभियान मार्फत समाजका हरेक तह र तप्कालाई जागरुक बनाउन गरेको प्रयास पनि सामाजिक विकासको लागि सशक्त योगदान रहेको चर्चा गर्नुभयो ।

संगठनलाई समयानुकूल बैज्ञानिक, प्रविधियुक्त श्रोत साधनबाट थप सुसज्जित गर्नेतर्फ गृहमन्त्रालय गम्भीर रहेको र सो अनुरुप भौतिक पुर्वाधार, थप दरबन्दी निकासा, अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आधुनीकिकरण भइरहेको उहाँले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्