काठमाडौं, २६ मंसिर २०७६ । त्रिबि अस्पतालमा बिहीबार र शुक्रबार गरि दुईदिने घुँडा र कम्मरको जोर्नी प्रत्यारोपण सम्बन्धि कार्यशाला गोष्ठी भैरहेको छ ।
नेपाल अर्थोपेडिक एसोसिएसन, अर्थोप्लाष्टि सब कमिटी नेपाल, त्रिबि अस्पताल हाडजोर्नी बिभाग र अस मेड फाउन्डेसनको आयोजनामा भएको उक्त कार्यशालामा अष्ट्रेलिया, भारत र नेपालका गरि करिब एक सय जना हाडजोर्नी विशेषज्ञको सहभागी रहेका छन् ।
कार्यशालाको पहिलो दिन बिहीबार नेपालमा यी जोर्नी सम्बन्धि थुप्रै बिरामी रहेका छन् भने नेपालमा जोर्नी प्रत्यारोपणको समस्या र यसको समाधान कसरी गर्ने भनी छलफल समेत भैरहेको बताइएको छ ।
शल्यक्रियाको बारेमा यो कार्यशालाबाट युवा चिकित्सकलाई सिक्ने वातावरणमा सहज भैरहेको त्रिबि अस्पतालका हाडजोर्नी बिभागिय प्रमुख प्रा.डा.अर्जुन लामिछानेले बताउनु भयो । बिदेशबाट आएका डाक्टर र नेपालका जोर्नी विशेषज्ञ बिच प्रत्यारोपण सम्बन्धि नयाँ प्रविधि र यसलाई नेपालमा अझ बढि सफल कसरी बनाउने, जोर्नीका बिरामीलाई जनचेतना सम्बन्धि छलफल भएको जोर्नी प्रत्यारोपण प्रमुख सर्जन प्रा.डा.दिपक महराले जानकारी दिनु भयो ।
- ADVERTISEMENT -
जोर्नी प्रत्यारोपण गर्न नेपालमा महँगो भएको हुँदा सरकारले बिमाबाट सहज र कम खर्चिलो हुन सक्ने वातावरण सिर्जना गरि दिए केही लाभ मिल्ने बिरामीको भनाई छ । जोर्नी प्रत्यारोपण गर्न नेपालमा तीन लाख जति खर्च हुन्छ । आर्थिक स्थिति न्यून भएकालाई कसरी सर्भसुलब बनाउने भन्ने बिषयमा छलफल भएको र संसारभरी भएका नयाँ प्रविधिलाई नेपालमा भित्र्याउने बिषयमा समेत छलफल भएको उपप्राध्यापक डा.सुनिल सिंह थापाले बताउनु भयो ।
शुक्रबार त्रिबि अस्पताल हाड जोर्नी बिभाग र अस मेड फाउन्डेसनको सहयोगमा दुई जना आर्थिक अवस्था न्यून भएका बिरामिको जोर्नी सम्बन्धि निशुल्क अप्रेसन हुने जनाइएको छ । जसमा एकजनाको घुँडा र एकजनाको कम्मरको अप्रेसन गरिदै छ ।