काठमाडौँ, २५ मंसिर २०७६ । नेपाल तरुण दलले १३ औँ दक्षिण एसियाली खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ ।

दुवैलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कारवाही गर्न तरुण दलले माग गरेको हो ।

नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरिद गर्नुले देशकै बदनाम भएको ठहरसहित नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ ।

नेपाली खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ ।’

त्यस्तै, साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी (बिना टेन्डर) प्राप्त गरेको ई–सेवाले टिकट बिक्री वितरणमा ठगी धन्दा सञ्चालन गरेको प्रति पनि दलले खेद प्रकट गर्दै इसेवामाथि छानविनको प्रक्रिया सुरु गरी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

यसको साथै दलले पदक विजेता खेलाडीहरुलाई उचित पुरस्कारसहित सम्मान गर्नुपर्ने सरकार र नेपाल खेलकुद परिषद्सँग माग गरेको छ । पदक जित्ने खेलाडीहरुले देशको इज्जत बचाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै स्वर्ण पदक विजेता प्रत्येकलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्नेलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न दलले माग गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्