पोखरा, १४ मङ्सिर २०७६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीमाथि नेकपाका कार्यकर्ताद्धारा आक्रमणको प्रयास भएको छ ।
मतदानको पूर्बसन्ध्यामा शुक्रबार मध्यरात उनी बसेको होटलमा पुगेर आक्रमणको प्रयास भएको हो । मध्यरात होटलमा पुगेर दुई जनाले कांग्रेस नेता जोशीबारे सोधिखोजी गरी आक्रमण गर्ने योजना बनाएका थिए।
उनीहरुले नेता जोशी बसेको पोखरा बुटिक होटलको रिसेप्शन तोडफोडसमेत गरेका छन् । होटलका कर्मचारीले सिसि क्यामेरा रहेको जानकारी गराएपछि उनीहरु त्यहाँबाट भागेका थिए ।
कांग्रेसका मतदातालाई निरुत्साहित गर्ने उद्देश्यले नेकपाको तर्फबाट आक्रमणको योजना बनाइएको कांग्रेस नेता जोशीले बताए । उनले भने, ‘चुनावलाई प्रभावित गर्ने उदेश्यले नै आक्रमणको योजना बनाइएको हो। यो पराजित मानसिकताको उपज हो ।’
जोशी लामो समयदेखि पोखरामा खटिएका छन् ।








































