काठमाडाैँ, १२ मङ्सिर २०७६ । सरकारले १३ औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद प्रतियोगिता (साग) लाई ऐतिहासिक, भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरेको छ ।
काठमाडाैँ, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रङ्गशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नु हुने कार्यक्रम तय गरिएको छ ।
नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरवमाथि उठाउने हिसाबले प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिनुभयो । करीब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ ।
उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहनेछ । प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान, श्रीलङ्काका करीब पाँच हजार सङ्ख्यामा खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी आउने क्रम शुरु भइसकेको छ । उनीहरुको बसोवासका लागि राजधानीमा मात्रै सय को सङ्ख्यामा होटल बुकिङ भइसकेको तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले जानकारी दिनुभयो ।
सागलाई सफल तुल्याउन करीब २० हजार सुरक्षाकर्मी खट्नेछन् भने ५०० स्वयंसेवकलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३ औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई वटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । “साग खेलकूद प्रतियोगिता हाम्रा लागि आफैमा महत्वपूर्ण उत्साहको पर्व हो, प्रतियोगितालाई भव्यरुपमा सफल तुल्याउन सबैको साथ सहयोगका लागि अपिल गर्दछौ ।” मन्त्री विश्वकर्माले भन्नुभयो ।
प्रतियोगिता भव्यरुपमा आयोजना गर्न दशरथ रङ्गशलाको पुन : निर्माण काम पूरा भएको छ । पोखराको रङ्गशालाको काम पनि अन्तिम रुपमा पुगेको छ । प्रतियोगितामा समावेश २६ खेलमध्ये महिला फुटवल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पोखरामा हुने छ । ऐतिहासिक नगरी जनकपुरमा भने कुस्ती हुने छ । नेपालले प्रतियोगितामा भाग लिने १९ विधाका खेलाडीलाई विदेशमा प्रशिक्षणमा पठाएको थियो भने सात खेल विधाका प्रशिक्षकलाई नेपालमा बोलाएर खेलाडीलाई प्रशिक्षित तुल्याइएको परिषद्का सदस्य सचिव रमेश सिलवालले बताउनुभयो ।
देशभर साग सम्बन्धी प्रतियोगिताको प्रचारप्रसार र खेलकूदको माहोल बनाउने क्रममा मुलुकका सातै प्रदेशमा यसअघि नै १३आँै सागको ओलम्पिक टर्च पु¥याइसकिएको छ । कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धर, दीपक विष्ट, राजेन्द्र भण्डारी, सीता राई, सङ्गीना वैद्य, नयना शाक्य, जीतबहादुर केसी, सविता राजभण्डारी, विधान लामालगायतका खेलाडीले खेलकूदको माध्यमबाट नेपाल र नेपालीको प्रतिष्ठा र गौरव बढाउन महत्वपूर्ण योगदान दिनुभएको छ ।
प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिता भने बुधबारबाट शुरुआत भइसकेको छ । यस प्रतियोगितामा सातै देशका खेलाडीले भाग लिएको एउटै विधा भनेको ब्याड्मिन्टन हो । सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
१३आँै सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ । प्रतियोगिता अन्तर्गत सबैभन्दा बढी प्रतिस्पर्धा पौडी विधामा ३८ वटा स्वर्ण पदक प्रदान गरिने छ । प्रतियोगितामा ५९४ खेलाडीसहित ७८० जनाको नेपाली टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने छ । दक्षिण एशियाली मुलुकसहित विश्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।
सरकारले सन् २०२० का लागि घोषणा गरेको नेपाल भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यो पटकको सागको तयारी गरेको छ । दक्षिण एशियाली मुलुकबाट प्रतियोगितामा भाग लिन आउने खेलाडी, प्रशिक्षक, दर्शक, अफिसियललगायतका पाहुनाको स्वागत गर्ने क्रममा नेपालको रहनसहन, भेषभूषासहित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, भेषभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ ।
कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्मा बताउनुहुन्छ ।









































