काठमाडौं, ६ मङ्सिर २०७६ । नेपाल विद्यार्थी संघले (नेविसंघ)ले स्कूलका विद्यार्थीहरुलाई भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीसहितको भूभाग समेटेर नेपालको नक्सा बनाउन सिकाउने अभियान सुरु गरेको छ। ‘चिनौ सिमाना, जोगाउ माटो’ नाम दिइएको उक्त अभियान विहीबारदेखि सुरु भएको हो ।
नेविसंघका नेताहरुले पहिलो दिन नेपालकै पहिलो विद्यालय दरबार हाइस्कूलका विद्यार्थीहरुलाई भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको इलाकालाई समेटेर नेपालको नक्सा तयार पार्न सिकाएका हुन् । नेविसंघ नेता नवराज त्रिपठीको संयोजकत्वमा सुरु भएको अभियान अन्तर्गत नेविसंघका नेताहरुले दरबार हाइस्कूलका माध्यमिक तहका विद्यार्थीहरुलाई अतिक्रमित कालापानी सहितको इलाका समेटेर नेपालको नक्सा तयार पार्न सिकाएका थिए ।
नेविसंघ नेताहरु गोपि शिवाकोटी, रुपा पाखरेल, रमेश वास्ताकोटी, मनिष सिम्खडा लगायतले विद्यार्थीहरुलाई नेपालको सीमानाबारे जानकारी दिदै भारतले अतिक्रमण गरेको भूभागबारे जानकारी दिएका दिनुभयो ।
‘सरकारले विद्यार्थीहरुलाई नेपालको गलत नक्सा पढाइरहेको छ। कालापानी सहितको नक्सा अझैसम्म पनि सरकारले सार्वजनिक नगरेर भविष्यका कर्णधारहरुलाई नेपालको सीमानाबारे गलत जानकारी दिनु राष्ट्रघात हो । यो अभियान अन्तर्गत हामीले सरकारको गल्तीलाई सच्याउने प्रयत्न गरेका छौं। विद्यार्थीहरुलाई नेपालको सीमानाबारे सही जानकारी दिने हाम्रो प्रयास हो’, त्रिपाठीले भने। उनले यो अभियान लिएर नेविसंघ देशभरका विद्यालयहरुमा पुग्ने बताउनु भयो ।








































