काठमाडौं, ५ मङ्सिर २०७६ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागका लागि देशभर ओेलम्पिक टर्च र्याली हुने भएको छ ।
सातै प्रदेशका प्रमुख शहरहरुमा ओलम्पियन खेलाडीहरुले ओलम्पिक टर्चको परिक्रमा गर्नेछन । काठमाडौको स्वयम्भुमा शुक्रबार (६ गते) राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार शिलवालले ओलम्पिक टर्च प्रज्वलन गर्नेछन् ।
काठमाडौमा बिहिबार भएको पत्रकार सम्मेलनमा १३ जना ओलम्पियन खेलाडी सहभागी हुने नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनु भयो । ओलम्पिक टर्च परिक्रमाको पहिलो दिन काठमाडौंबाट सुरु भई सात प्रदेशका प्रमुख शहरमा पुगी नवौं दिन दशरथ रगंशालामा आएर टुंगिनेछ ।
ओलम्पिक टर्च परिक्रममा सागमा सर्वाधिक स्वर्ण पदक विजेता कीर्तिमानी ओलम्पियन दीपक विष्ट, एथ्लेटिक्सका कीर्तिमानी ओलम्पयन धावक बैकुण्ठ मानन्धर, एथ्लेटिक्सका साग स्वर्ण पदक विजेता राजेन्द्र भण्डारी सहभागी हुने जनाइएको छ ।
यस्तै ओलम्पियन पौडीवाज नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जीत बहादुर केसी, उथलेटिक्सका ज्ञान बहादुर बोहोरा, सुटिङका टिकाराम श्रेष्ठ, एथलेटिक्सका राज कुमारी पाण्डे, कान्छीमाया कोजु, एथलेटिक्सका मुकुन्दहरी श्रेष्ठ र सागका दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठ सहभागी हुनेछन् ।









































