काठमाडौं, २३ कात्तिक २०७६ । भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकमा पूर्व-प्रधानमन्त्रीहरु, पूर्व-परराष्ट्रमन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकारलगायत सहभागी छन्। भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ ।
विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेका छन्। भारतले भने नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ। सत्तासीन दल नेकपा र प्रमुख प्रतिपक्ष दलका विद्यार्थी संगठनहरू नै गो ब्याक इण्डिया भन्दै सडकमा निस्किसकेका छन् ।
शुक्रबार मात्र लैनचौरको भारतीय दूतावासअगाडि ‘गो ब्याक इण्डिया’ भन्दै विरोध प्रदर्शन भएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले भने नेविसंघका नेताहरूलाई निवासमै बोलाएर भारतीय कदमविरुद्ध सडक आन्दोलनमा उत्रन निर्देशन दिइसकेका छन् ।








































