काठमाडौं, १२ कात्तिक २०७६ । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुने गरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अप्ठ्यारोमा पर्न सक्ने बताएका छन् ।
प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्त्वपूर्ण कुरा भएको उल्लेख गर्दै पूर्वराजा शाहले सो कुरा सर्वसाधारणले सरल ढंगले अनुभव गर्न नपाए परिवर्तनकर्ताहरु अप्ठ्यारोमा पर्ने सचेत गराए ।
मंगलबार काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हालबाट टीका र प्रसाद ग्रहण गरेपछि उनले सञ्चारकर्मीसँग परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन् गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने प्रष्ट्याए ।
‘हेर्नुस् जुनसुकै परिवर्तन हुँदाखेरी दुईटा महत्त्वपूर्ण कुरा हुुनु पर्दछ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहले भने, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन । र, परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ ।’
पूर्व राजा शाहले त्यस अवसरमा भाइटीकाको दिन कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनी शुभकामना पनि व्यक्त गरे ।
पूर्वराजा शाहले आफूलाई लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना भएको स्मरण गराउँदै उनले भने झैं ‘अरुको सुखका लागि आफैँलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको पनि बताए ।
उनले भने, ‘सबै नेपालीले सुख र शान्तिका साथ बस्न पाऊन्, तिहारको अवसरमा मेरा यही शुभकामना छ।’








































