आँबुखैरेनी, ६ कार्तिक २०७६ । आँबुखैरेनी प्याब्सन संघको आयोजनामा आजबाट प्रथम आँबुखैरेनी गाउँपालिका स्तरीय प्याब्सन खेलकुद प्रतियोगिता सुरु भएको छ ।
गोरखकाली खेल मैदानमा आँबुखैरेनी प्याब्सन संघका अध्यक्ष तथा कार्यक्रम संयोजक गोबिन्द प्रसाद खनालको सभापतित्व तथा तनहुँ जिल्ला प्याब्सन संघका अध्यक्ष भगवानदास मल्लको प्रमुख आतिथ्यतामा सो सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरु भएको हो ।
तनहुँ जिल्ला प्याब्सनको सप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तर्गत आज उद्घाटन फुटबल खेल आँबुखैरेनी गाउँपालिका भित्रका सिनीयर तर्फ एक्टिभ ग्रिन ल्याण्ड बोर्डिङ्ग स्कूल र मस्र्याङ्गदी बाल ज्योती आवाशिय माध्यमिक विद्यालय बीच भएको थियो ।
खेलमा मस्र्याङ्गदी बाल ज्योती आवाशिय माध्यमिक विद्यालयले एक्टिभ ग्रिन ल्याण्ड बोर्डिङ्ग स्कूललाई ३–० गोल अन्तरले पराजित गरेको छ । “गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यता, समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता” भन्ने नाराका साथ आगामी कार्तिक ८ गते सम्म चल्ने खेलकुद प्रतियोगितामा दौड प्रतियोगिता र रिले दौंड समेत गरिने कार्यक्रम संयोजक खनालले जानकारी दिनुभएको छ ।
उद्घाटन कार्यक्रममा गोरखा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष हरि बहादुर खनाल, शिक्षा प्रेमी तथा समाजसेवी हरिभक्त श्रेष्ठ, राम शाह टोल सुधार समिती मझुवा गोरखाका अध्यक्ष मिन बहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।









































