काठमाडौँ, ३ कात्तिक २०७६ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । थपिएको समयमा अनुसन्धान पूरा नभएपछि निवर्तमान सभामुख महरालाई पुन: समय थप गरी अदालत लगिन लागेको हो ।
संसाद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुरव्यवहार गरेको आरोपमा परेको जबरजस्तीकरणी उद्योगको मुद्दामा अनुसन्धानका लागि निवर्तमान सभामुख महरालाई जिल्ला अदालत काठमाडौँले २८ असोजमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।
पछिल्लोपटक थपिएको समयमा समेत अनुसन्धान नसकिएपछि म्याद थपका लागि महरालाई प्रहरीले आइतबार पुनः अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
जबरजस्तीकरणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान रहेको छ । निवर्तमान सभामुख महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन् ।








































