काठमाडौं, २८ असोज २०७६ । गैरआवासीय नेपालीका लागि नेपाली नागरिकले पाउने बराबरको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको गैरआवासीय नागरिकता दिइने भएको छ ।
राजधानीमा मंगलबार जारी गैरआवासीय नेपाली संघको नवौं अधिवेशन अन्तर्गत गैरआवासीय नेपालीको कानुनी अधिकार र जिम्मेवारी विषयक कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानले दिएको अधिकारका आधारमा यस्तो व्यवस्था गर्न लागिएको बताए ।
नेम्वाङले नागरिकता ऐनको मस्यौंदा संसदको राज्यव्यवस्था समितिमा रहेको भन्दै एनआरएनले उठाएको सवाललाई पनि नागरिकता विधेयकमा राखिएको जानकारी दिए ।
यसैक्रममा, नेम्वाङले भने, ‘राज्यव्यवस्था समितिमा रहेको नागरिकता विधेयक अहिले टुङ्गिएको छैन । एनआरएनले उठाएको सवाललाई पनि नागरिकता विधेयकमा राखिएको छ । एनआरएनले उठाएको विषय हामीले पनि उठाएको विषय हो । सांसदहरुले संशोधन राखेर एनआरएनले उठाएका विषयलाई संसोधन गरेर समावेश गरेका छन् । ुु
सुरुको अवस्थामा एनआरएनएका लागि परिचयपत्रका लागि धेरै छलफल गरेको बताउँदै नेम्वाङले यसबारे पहिला धेरै द्धिविधाहरु रहेको जनाए । नेम्वाङले भने, ‘परिचयपत्रदेखि अहिले नागरिकता दिने विषयसम्म आएका छौँ ।
एनआरएनलाई किन नागरिकता नदिने भन्ने विषयमा छलफल गर्यौं । संविधानबाट एनआरएनका लागि नागरिकताको विषय टुङगो लगायौँ । त्यतिबेला यसबारे धेरै विवाद भएको थियो । अब यो उपलब्धीलाई अनुभूत हुनेगरी व्यवहारमा कार्यान्वन गर्न आवश्यक रहेको छ ।
अब गैरआवासीय नेपालीहरुले नेपाली नागरिकले जति आर्थिक सामाजिक सांस्कृतिक अधिकार पाउँछन् त्यसमा तोला पनि फरक नपर्ने गरी गैरआवासीय नागरिकता पाउने व्यवस्था हुने नेम्वाङको दाबी छ ।
नेम्वाङले अहिले कायम मस्यौंदामा भएको यो अधिकारलाई तलमाथि नगरी पारित गर्ने प्रतिबद्धता जनाएको छ ।








































