काठमाडौं, २७ असोज २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आधिकारिक रुपमा आफ्नो टिमको घोषणा गर्नु भएको छ ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो पुरै टिम घोषणा गर्नु भएको हो ।
आचार्य प्यानललाई राखेर घोषणा गरिएको टिम निर्माणमा अमेरिकाका डा. केशव पौडेलले महासचिव पदको दाबी छाडेर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । डा. पौडेलले महासचिवमा बेल्जियम निवासी जानकी गुरुङको नाममा सहमति गरेर दाबी छाडनु भएको हो ।
जस अनुरुप डा. पौडेल आचार्यको टिमबाट उपाध्यक्षको उम्मेदवार बन्नु हुनेछ ।
अमेरिकाका डा. पौडेलले साथीभाइको सल्लाह बमोजिम महासचिवबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन सहमति जनाउनु भएको हो ।
‘सँस्था भन्दा पद ठूलो वा सानो हुँदैन, सँस्था सधैं सर्वोच्च हुन्छ तर व्यक्ति, पद गौण हुन्छ अतः मैले विवाद भन्दा सम्वाद रोजेँ र विमति भन्दा सहमति खोजें’, डा. पौडेलले भन्नुभयो । उहाँले महासचिवको लागि जुन प्रतिबद्धता व्यक्त गर्नु भएको थियो तर त्यसमा एक ईन्च पनि तलमाथि नहुने उपाध्यक्षमा विजयी भएपछि त्यसलाई कार्यान्वयन गरेरै छोड्ने वचनवद्धता पनि प्रकट गर्नु भयो ।
आचार्य समूहबाट उपाध्यक्षमा डा पौडेलसँगै, मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), महिला उपाध्यक्षमा रबिना थापा (अमेरिका)ले उम्मेदवारी दिने भएका छन्। यस्तै वर्तमान सह–कोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिनु हुनेछ ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी आचार्यले अन्य इच्छुक उम्मेदवारलाई समेटेर अघि बढ्ने बताउनु भयो । आँफूले प्रजातान्त्रिक समूह नभइ सिङ्गो एनआरएनको समूह बनाएको दावी गर्दै आचार्यले आफ्नो प्यानलको बचाउ गरेको बताउनु भयो ।








































