काठमाडौं, २४ असोज २०७६ । प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन पूर्वराष्ट्रपति यादवद्वारा उद्घाटन गर्नु भएको छ ।
“एकता, अस्तित्त्व र पहिचानका लागि प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन” २०७६ भन्ने मूल नारा सहित “ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन २०१९” आजदेखि सुरु भएको छ ।
तमू ह्युल छोंज धीं गुरुङ् राष्ट्रिय परिषद केन्द्रिय समितिको संयोजन तथा ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन-२०१९ मूल अायोजक समिति काठमाण्डौं, नेपालको अायोजनामा यहि असोज २४ र २५ गते शुक्रबार र शनिबार दुई दिनसम्म चल्नेछ ।
नेपालका पहिलो राष्ट्रपति डा। रामवरण यादवले तमूहरुबीच एकता कायम गर्दै विश्वमा सन्देश दिन तमू अन्तर्राष्ट्रिय सम्मेलन सफल हुने विश्वास गर्नुभयो । पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान संशोधन गरेर संविधानमा सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाव दिनु भएको छ ।
काठमाडौंमा सुरु प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलनको शुक्रबार उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले सरकार र नेतृत्वमा रहेका राजनीकि दलहरुले संविधानमा भएको त्रुटि सच्याएर अघि बढ्नुपर्ने धारणा राख्नु भएको हो ।
जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउँदै सबैले अपनत्व महसुस गर्ने गरी संविधानमा भएका त्रुटिहरुलाई सच्याउनुपर्नेमा उहाले जोड दिनु भयो ।
संविधान संशोधन गर्न तत्परता नदेखाउने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा पनि जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले त्यसतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्याउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा समाजसेवी भद्रकुमारी घलेले समग्र आदिवासी जनजातिबारे नयाँ खोज अनुसन्धान आवश्यक रहेको भन्दै आफ्ना पुर्खाबारे खोज अनुसन्धान गर्न युवा पुस्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा एनआरएनएका सचिव जानकी गुरुङ, तमुधिँ यूकेका अध्यक्ष नन्दजंग गुरुङ, सिक्किमका गर्जमान गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सम्मेलनमा देश तथा विदेशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तमू अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनपछि विभिन्न विषयमा विषयगत छलफल हुनेछ ।








































