सिन्धुपाल्चोक, २४ असोज २०७६ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
इन्द्रावती गाउँपालिका–९ को सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी पचासभन्दा बढी घाइते भएकोे स्थानीय राजेन्द्र आचार्यले बताए ।
सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनाग्रस्त बसमा सबार प्रायः सबै घाइते भएको हुनसक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।
छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।
पाँचजनाको सनाखत
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ उक्त बस दुर्घटनास्थलमा पुगेका छन् । हेलिकप्टर लिएर घटनास्थल आइपुगेका मन्त्री दुलालले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनुका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।
दुर्घटनामा मृत्यु भएका १२ मध्ये पाँचजनाको सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकामध्ये काभ्रेका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य रहेको बताइएको छ ।








































