काठमाडौं, २४ असोज २०७६ । सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा समाचार संकलन गर्ने पत्रकारको ‘ड्रेस कोड’ तोकेको छ ।
सूचना तथा प्रसारण विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि ‘टाइसहित सुट सेट’ र महिलाका लागि ‘सुट सेट, सारी वा सभ्य कुर्ता’ तोकिएको छ ।
निजी सञ्चारमाध्यमका एकजना पत्रकार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका लागि पास दिएको छ । राष्ट्रपति सी शनिबार दिउँसो नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । उनी आइतबार स्वदेश फर्किनेछन् ।
राष्ट्रपति सी शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् । साढे ४ बजे उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुग्ने तालिका छ ।
आइतबार बिहान साढे ८ बजे होटल सोल्टीमा चीन नेपाल द्वीपक्षीय वार्ता हुनेछ। उक्त वार्ता सकेर उनी साढे १० बजे स्वदेश फिर्तीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।








































