ताप्लेजुङ,२१ असोज २०७६ । गाउँशहर सबैतिर दसैंको चटारो छ । दसैंको टिका लगाउनेहरु त्यसैको तयारीमा छन् । टिका लगाउने नलगाउने सबैले खाद्यका परिकार भित्र्याएका छन । गाउँभरीको सडक सफा गरेर चिटिक्क बनाएका छन् । आफ्ना नानीहरुलाइ नया कपडा किनिदिएका छन् । शेर्पा समुदायको मात्रै वसोवास रहेको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका बासिन्दाको दिनचर्याभने फरक छ ।
दसैंमा टिका नलगाउने उनिहरुले सञ्चार माध्यमवाट सुनेरैपनि दसैंको उत्सव मनाइरहेका छन । टोल बस्ति सफा पारेका छन् । मासु लगायतका खाद्य परिकार भित्र्याएका छन । तर, दैनिकी भने सडकतिर छ ।
यतिवेला ओलाङचुङगोलावाट सदरमुकाम फुङलिङ तर्फ सडक बिस्तारको काम भइरहेको छ । दुइवटा स्काइभेटर मेशिन लिएर आएका चाइनिजहरु विहान उज्यालो हुँदादेखि साँझसम्म सडकको ट्रयाक खोलिरहेका छन् । सडक ठिक बस्तिबाट अगाडि बढिरहेकाले यहाका नागरिकको दैनिकि यहि मेशिनको अघिपछि छ । पुरुषहरु चौंरी धपाउँदै मेशिनतिरै हुन्छन् । महिलाहरुपनि काखमा नानी च्यापेर त्यसैको वरिपरि घुम्छन् ।
दुई वर्षअघि मात्रै चिनको तिब्बतवाट बस्तिसम्म आइपुगेको सडकमा यहाका नागरिकले लगानी गरेका थिए । ओलाङलुङगोलामा जन्मेर देसविदेसमा रहेकाहरुले संकलन गरेको तीन करोड रुपैयाँबाट २४ किलोमिटर ट्रयाक खोलिएको थियो । त्यहि सडकमा तिब्बतवाट पटक/पटक साना गाडि आए । गाउँका पहुँच भएकाहरु त्यही गाडि चढेर तिब्बत पुगे । तिब्बत प्रशासनका प्रमुखहरु ओलाङचुङगोलासम्म गाडिमै चढेर धेरै पटक आए । तर, सर्बसाधारण नागरिकको पहुँचमा यातायात पुगेको छैन । किनकी आफ्नै जिल्लाको सदरमुकाम सडकले जोडिएको छैन ।
सडक बिभागवाट ट्रयाक खोल्ने जिम्मेवारी पाएको काठमाण्डौको एसडि एलाइट कम्पनिले यहि हप्तादेखि ओलाङचुङगोलावाट लेलेप तर्फपनि ट्रयाक खोल्न सुरु गरेको छ । लेलेपवाट ओलाङचुङगोला तर्फ गतवर्ष देखि नै बिस्तार गरिरहेको छ । ठेकदार कम्पनिका पेम्वा शेर्पाका अनुसार लेलेपवाट ओलाङचुङगोला जोडिन अव २१ किलोमिटर मात्रै बाँकि छ । यस्कालागि चीनत्राट मेशिन र जनशत्ति भाडामा लिएर दुइतिरत्राट काम सुरु गरिएको हो ।








































