गोरखा, १६ असोज २०७६ । प्रथम भिमसेन थापा सेभेन ए साईड फुटवल कपको उपाधी वडा नं ४ धाबाले कब्जा गर्न सफल भएको छ । भिमसेन थापा गाउँपालिका वडा नं ३ को वडा खेलकुद समितिको आयोजनामा असोज १३ देखि १५ गतेसम्म भएको प्रतियोगितामा गाउँपालिका भित्रका सातवटा वडाको खेल सम्पन्न भएको छ ।
तान्द्राङको कुलिगैरा खेल मैदानमा भएको प्रतियोगितामा भिमसेन थापा गाउँपालिका वडा नं ४ ले वडा नं १ लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । वडा नं ४ लाई कुनैपनि गोल फर्काउन नसक्दा वडा नं १ ले उप-विजेतामा नै चित्त बुझाउन बाध्य भएको थियो ।

प्रतियोगितामा वडा नं ६ लाई ३–२ गोल अन्तरले पराजित गर्दै वडा नं ७ तेस्रो हुन सफल भएको आयोजक वडा खेलकुद समितिका कोषाध्यक्ष उमेश खनालले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कारले सम्मान गरिएको छ । बिजेतालाई गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नं १ का प्रताप गुरुङ, सर्वाधिक गोलकर्ता वडा नं ४ का सन्तलाल गुरुङ, उत्कृष्ट रक्षक वडा नं ३ का प्रभाकर बञ्जरा हुन सफल भएका थिए । वडा नं ३ का विरोचन विक उदाउँदो खेलाडी हुन सफल हुनु भयो । उनीहरुलाई जनही पाचँ हजार रुपैयाँका साथमा पुरस्कार प्रदान गरिएको छ ।









































