काठमाडौँ, १५ असोज २०७६ ।संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार आरोप लागेपछि गम्भीर विवादमा तानिएका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा दुईवटा राजीनामा पत्र बुझाएका छन् ।
आइतवार राती संसद सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि यौनहिंसा गरेको आरोप लागेपछि महराले मंगलबार शर्तसहित सभामुखबाट राजीनामा दिएका थिए ।
उनले छानविन नसिकएसम्मका लागि भन्दै दिएको राजीनामा पत्र बुझाएपछि अर्को पनि राजीनामा पत्र बुझाएका हुन्। महराले सभामुखबाट दिएको राजीनामाको व्यहोरा सच्च्याएर दोस्रो पत्र बुझाएका हुन्। पहिलो राजीनामामा शर्त राखेका उनले दोस्रो राजीनामामा शर्त हटाएपछि संसद सचिवालयले उनको पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ ।
सचिवालयले आफ्नो वेबसाइटबाट महराको फोटो पनि हटाएको छ । सुरुमा बुझाएको राजीनामामा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने शब्द थियो भने पछिल्लो राजीनामामा उक्त शब्द हटाएर महराले बुझाएका हुन् । पछिल्लो राजीनामा पत्रअनुसार नै संसद सचिवालयले उपसभामुखको निर्देशनमा सभामुख पद खाली भएको सूचना जारी गरेको हो ।







































