काठमाडौं, १५ असोज २०७६ । दसैँमा तोकिएको भन्दा बढी शुल्क लिने, क्षमता भन्दा बढी यात्रु बोक्ने बस तथा टिकट काउन्टरमा प्रहरीले अनुगमन सुरु गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँमा तोकिएको भन्दा महँगो शुल्कमा टिकट बिक्री गर्ने, क्षमताभन्दा बढी टिकट काट्ने जस्ता गुनासाहरु बढी आउने गरेकाले सादा पोसाकका प्रहरी खटाएर उपत्यकाका विभिन्न स्थानमा रहेका टिकट काउन्टरहरुमा तीव्र अनुगमन गरिरहेको हो ।
प्रहरी महाशाखाले गत तीन दिनमा मात्र विभिन्न टिकट काउन्टरबाट आठ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले असोज १२ गते कोटेश्वरस्थित चुरिमाई यातायात टिकट काउन्टर तथा इमोनएसी हायस काउन्टरबाट तीनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिन्धुलीका ५० वर्षीय दीपेन्द्र प्रसाद पौडेल, पाँचथरका ३० वर्षीय उपेन्द्र ढुंगाना र महोत्तरीका २६ वर्षीय विशाल घिसिङ रहेका छन् ।
त्यस्तै, सोही दिन बल्खुस्थित वेलकम सुमो सेवा टिकट काउन्टर तथा वीरगञ्ज कलैया सुमो सेवा टिकटकाउन्टरबाट २ जनालाई पक्राउ गरिएको प्र्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरका २७ वर्षीय श्रीराम सिन्तान र बाराका २४ वर्षीय चन्दन साह कलवार रहेका छन् ।
प्रहरी प्रभाग कोटेश्वरलाई मङ्गलबार पनि कोटेश्वरका विभिन्न टिकट काउन्टरहरुबाट बढी भाडा असुल गर्ने तीनजनालाई पक्राउ गरेर बुझाइएको छ । पक्राउ पर्नेमा पञ्चधुरा यातायातका धनुषा बस्ने ४२ वर्षीय रवीन्द्रनाथ श्रेष्ठ, रातो कमलामाई सेवाका धनुषा बस्ने ३९ वर्षीय अशोक थोकर र सुनसरी बस्ने २४ वर्षीय प्रशान्त तामाङ रहेका छन् ।
यसैगरी बुधबार बल्खुमा रहेको दक्षिणकाली दर्शन सुमो सेवा टिकटकाउन्टरबाट बढी भाडा असुल गर्ने काउन्टरका कर्मचारीलाई पक्राउ गरी कालिमाटी वृत्तमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँका ३२ वर्षीय रामचन्द्र कार्की रहेका छन् ।








































