काठमाडौँ, १४ असोज २०७६ । नेत्रविक्रम चन्द नेतृत्वको समूहले लुकाई राखेको २५ किलो कडा विस्फोटक पदार्थ झापा प्रहरीले बरामद गरेको छ ।
आइतबार साँझ ५ बजे अर्जुनधारा नगरपालिका–१ सिस्नेबाट नियोजेल–९० लेखिएको विस्फोटक पदार्थ २ सय ५ लोला बरामद गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मोहनकुमार थापाले बताए ।
चन्द समूहले चियाको बोटमा हाल्ने औषधि भन्दै विस्फोटक पदार्थ करिब महिना दिनअघिदेखि सिस्नेमा लुकाएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।
जिल्ला र इलाका प्रहरी बिर्तामोडको संयुक्त टोलीले विस्फोटक पदार्थ बरामद गरेको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीले भदौ ३० गते नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सेक्रेटरी मनीष भनिने प्रवीण मिश्र, जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, जिल्ला जनसरकार प्रमुख टीकाराम पोखरेल र कार्यकर्ता अनुल सारु मगरलाई समातेको थियो ।
पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनीहरूले बिर्तामोडस्थित एक घरमा कोठा भाडामा लिएको खुलेको थियो । उक्त कोठामा छापा मार्दा दुई थान पेस्तोल, त्यसमा प्रयोग हुने ४ राउन्ड गोली, आर्थिक सहयोगसम्बन्धी कागजात, विभिन्न रसिद, माइन्युट पुस्तक, विस्फोटक पदार्थ तथा अन्य विभिन्न पुस्तक भेटिएका थिए ।
उनीहरूमाथि गरिएको अनुसन्धानबाट कडा विस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिनेशराज पोखरेलले जानकारी दिए । ‘उनीहरूले जिल्लामा ठूलै घटना घटाउने तयारी गरेका रहेछन् । हामीले पक्राउ गरिसकेपछि निरन्तर अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।
चन्द समूहका कार्यकर्ताले विस्फोटक पदार्थ कहाँबाट ल्याएका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए । विस्फोटक पदार्थ डेटोनेटरमा प्रयोग हुने उनको भनाइ छ । ‘प्राविधिकका अनुसार दुइटा लोलामा एउटा गाडी पूर्ण रूपमा ध्वस्त गर्न सक्ने शक्ति हुन्छ,’ डीएसपी थापाले भने, ‘यति धेरै परिमाणको लोला बरामद नभएको भए जिल्लामा ठूलो अनिष्ट हुने अवस्था रहेछ ।’ कान्तिपुरबाट ।








































