काठमाडौँ, ८ असोज २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को असोज २८ देखि ३० सम्म काठमाडौंमा हुने महाधिवेशनमा कुमार पन्तले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
उनी अहिले एनआरएनएको उपाध्यक्ष हुन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै पन्तले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै पन्तले आफ्नो कार्यकाल पाँचवटा मन्त्रले सञ्चालन हुने प्रतिबद्धता जनाए । उनले लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगार, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका मुद्दामा आफ्नो कार्यकाल केन्द्रित गर्ने घोषणा गरेका हुन् । उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउन र एनआरएनए फाउन्डेसन विस्तार गरी सोहीमार्फत एनआरएनएको सहभागिता बढाउने प्रतिबद्धता जनाए । पन्तले एनआरएनएले घोषणा गरेको १० अर्बको सामूहिक लगानी कोषलाई मूर्त रूप दिने घोषणा गरेका छन् । यो कोषले पूर्वाधार निर्माणलगायत क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ ।
उनले सुरक्षित रोजगारीका लागि विद्यमान समस्या र समाधानका उपायबारे श्वेतपत्र जारी गरी सरकारसँगको समन्वयमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । ‘वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम सरकारसँगको समन्वयमा कार्यान्वयन गर्नेछु,’ उनले भने ।
उनले अध्यक्ष पदमा जिते संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै एनआरएनमा आबद्ध हुन न्यूनतम शुल्क वा नि:शुल्क सदस्यता पञ्जीकरणका लागि पनि पहल गर्ने उनको प्रतिबद्धता छ ।
‘संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन गरिनेछ,’ उनले भने, ‘गैरआवासीय नेपालीको समान भूमिकालाई स्थापित गर्न नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणालीबारे सम्भाव्यताको खोजी गरिनेछ ।’
पन्तले संघको चालु परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्ने घोषणा गरेका छन् । उनले भूतपूर्व ब्रिटिस गोर्खाहरूका मागका पक्षमा उभिने प्रतिबद्धता जनाउँदै गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई सम्बोधन गर्न राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापनाका लागि प्रयास गर्ने प्रतिबद्धता जनाए ।
पन्त सन् २००४ यता एनआरएनमा कुनै न कुनै भूमिकामा सक्रिय छन् । २००४ मा एनआरएन जर्मनी हिस्सेनका संयोजक भएका हुन् । सन् २००९–११ को कार्यकालमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का सदस्य थिए । उक्त अवधिमा उनी युरोप क्षेत्रको संयोजक थिए । सन् २०१३–१५ को कार्यकालमा उनी एनआरएनको महासचिव बनेका थिए । सन् २०१५ यता दुई कार्यकाल उनी एनआरएनएको उपाध्यक्ष पदमा छन् ।








































