काठमाडौँ, १५ भाद्र २०७६ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज पहिलो दिन कारोवार मापक नेप्से ११।६३ विन्दुले घटेर एक हजार १८४।७८ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १।९५ विन्दुले घटेर २५९।२९ मा पुगेको छ ।
नेप्से परिसूचक घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर रु २९ करोड ७३ लाख ९८ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूहको १।४७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ७।१४, होटल ३५।९६, विकास बैंक ३।३२, जलविद्युत् १९।७३, निर्जीवन बीमा ८०।०७, उत्पादन ४०।४६, अन्य ४।५, लघुवित्त १३।०४, जीवन बीमा १४३।४९ र सामूहिक लगानी कोष ०।०८ विन्दुले घटेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ९७ लाख तीन हजार २०५ बराबरको कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै, शिवम् सिमेन्ट रु एक करोड १९ लाख ६७ हजार ४६०, प्रभु बैंक रु एक करोड पाँच लाख १४ हजार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड तीन लाख र कुमारी बैंक रु ९३ लाख ५१ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहेको छ ।
स्टकका अनुसार आज सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सो संस्थाका शेयरधनीले ९।९८ प्रतिशतले कमाए । युनाइटेड फाइनान्स ९।७१, गरिमा विकास लघुवित्त वित्तीय संस्था ४।९०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३।७७, कर्णाली डेभलपमेन्ट बैंक २।८८, घलेम्दी हाइड्रोका शेयरधनीले २।७४ प्रतिशतले कमाए ।
त्यस्तै साञ्जेन जलविद्युत् कम्पनी ६।४०, रसुवागढी हाइड्रोपावर ५।९४, ओरियण्टल होटल ५।५१, हिमालयन पावर पार्टनर ५।४०, एनएलजी इन्स्योरेन्स ४।८२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ४।७६ प्रतिशतले गुमाए ।









































