काठमाडौं, ९ भाद्र २०७६ । सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा नेपालको इतिहामै पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्दैछ ।
नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत नै बैठक बस्न लागेको हो । यस बैठकको अध्यक्षता पनि प्रधानमन्त्री ओलीले नै रहने भएको छ ।
मन्त्रीहरुले नेपालका लागि यो भिडियो कन्फ्रेन्स नयाँ र पहियो पटक प्रयोग हुन लागेको बताएका छन् ।
यसैक्रममा, मन्त्रिपरिषद्को पछिल्लो बैठकहरुमा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फरेन्स’ लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।
प्रधानमन्त्री ओलीले लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेका छन् । सोहि क्रममा प्रधानमन्त्री ओली गत बिहीबार सिंगापुर प्रस्थान गरेको थियो । उनको उपचारको क्रममा बसाई अवधि लम्बिने भएको छ । प्रधानमन्त्री ओलीको अहिले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेको छ ।








































